(१) बजार संरक्षण अधिकृत वा उपसमितिले निरीक्षण तथा जाँचबुझको क्रममा सम्बन्धित व्यक्ति वा प्रतिष्ठानबाट परीक्षण गर्ने प्रयोजनको लागि कुनै वस्तको नमूना संकलन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नमूना संकलन गर्दा बजार संरक्षण अधिकृत वा उपसमितिले परीक्षणको लागि आवश्यक पर्ने न्यूनतम परिमाण भन्दा कम नहुने गरी तीनवटा नमूना प्याकेट तयार गर्नु पर्नेछ र त्यस्तो प्याकेटमा आफ्नो तथा उपलव्ध भएसम्म सम्बन्धित व्यक्ति वा प्रतिष्ठानका प्रतिनिधि र अन्य दुईजना व्यक्ति समेतको सहीछाप गराई सिलबन्दी गर्नु पर्नेछ ।
(३) बजार संरक्षण अधिकृत वा उपसमितिले उपनियम (२) बमोजिम तयार गरेको नमूना प्याकेटहरूमध्ये एउटा प्याकेट परीक्षणको लागि प्रयोगशालामा पठाउनु पर्नेछ र बाँकी प्याकेट आफू समक्ष सुरक्षितसाथ राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रयोगशालाले गरेको परीक्षणबाट प्राप्त परिणामलाई सम्बन्धित व्यक्ति वा प्रतिष्ठानले चित्त नबुझाई पुन परीक्षण गराउन चाहेमा वजार संरक्षण अधिकृत वा उपसमितिले उपनियम (३) बमोजिम आफू समक्ष सुरक्षित राखेको नमूना प्याकेटमध्येको एउटा प्याकेट पुन परीक्षण गराउन प्रयोगशालामा पठाउनु पर्नेछ ।
(५) उपनियम (३) वा (४) बमोजिम नमूना परीक्षण गराउँदा परिणाममा तात्विक भिन्नता आएमा बजार संरक्षण अधिकृत वा उपसमितिले आफू समक्ष रहेको तेस्रो प्याकेटको नमूना परीक्षणको लागि प्रयोगशालामा पठाउन सक्नेछ ।
(६) उपनियम (३), (४) र (५) बमोजिम परीक्षण गर्दा प्राप्त परिणाममध्ये दुईवटा परीक्षणको परिणाम समान भएमा त्यस्ता परिणाम र तीनवटै परीक्षणको परिणाम फरक फरक भएमा उपनियम (३) बमोजिमको परीक्षणबाट आएको परिणाम मान्य हुनेछ ।
(७) उपनियम (४) वा (५) बमोजिम कुनै वस्तुको नमूना प्रयोगशालामा परीक्षण गराउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा प्रतिष्ठानले व्यहोर्नु पर्नेछ।